मिटरब्याज पीडितलाई नेकपाले दिलायो न्याय

सुनसरी । विप्लव नेतृत्वको नेकपा, सुनसरीले मिटरब्याज पीडित महिलालाई आज न्याय दिलाएको छ । इटहरी उपमहानगरपालिका वडा नम्बर २ बस्ने रमिला कोइरालालाई न्याय दिलाइएको हो ।

कोइरालाले २०७५ मंसिर ६ गते छिमेकी देवीप्रसाद चुडालबाट ३ लाख ॠण लिएकी हुन् ।  उक्त रकमलाई १ वर्षपछि चुडालले मिटरब्याज लगाएर २० लाख साँवा पुर्‍याए । कोइरालाले हालसम्म चुडाललाई ६० लाख ब्याज मात्रै  तिरिसकेकि छिन् ।

ब्याज तिर्नका निम्ति कोइरालाले गुणराज कार्की सहित १७ जना बढी स्थानीय मिटरब्याजीहरुबाट  रकम लिईन । मिटरब्याजीहरुलाई अहिलेसम्म कोइरालाले साढे ४ करोड भन्दा बढी रकम तिरिसकेको बुझिएको छ । मिटरब्याजीहरुले कोइरालाको घरजग्गा रोक्का गरिदिएका छन् । सोही ॠण कै कारण कोइरालालाई श्रीमानले घरबाट समेत निकालिदिएका थिए ।

मिटरब्याजीहरुले कोइरालासंग रकम अशुल्नका निम्ति इलाका प्रहरी कार्यालय, इटहरीमा उजुरी दिएपछि पीडित कोइरालाले नेकपालाई न्यायका निम्ति आग्रह गरेकी थिइन । त्यसपछि नेकपाको विषेश पहलमा उक्त विषयमा प्रहरी कार्यालय मै छलफल गराइयो ।

छलफल पश्चात् पीडित महिलालाई घर मै बस्ने वातावरण बनेको छ । अधिकांश मिटरब्याजीलाई अब उप्रान्त कोइरालाले रकम तिर्नु नपर्ने बनाइएको कुरा नेकपा, इटहरी नगर सेक्रेटरी पृथ्वी सी. ले जानकारी दिए । छलफलको क्रममा कतिपय मिटरब्याजीहरु अनुपस्थित भएका थिए ।

विप्लव नेकपाले मिटरब्याजीलाई देशभर जनकारबाही गर्ने बताएको छ । सोही कार्यक्रम अनुसार सुनसरीका मिटरब्याजीलाई कार्वाही गर्ने अभियान सञ्चालन गर्ने कुरा नेकपा, सुनसरीका जिल्ला सेक्रेटरी सुरेश सी. ले बताए ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2024 आवाज पोस्ट All right reserved Site By : Himal Creation