संगठित भएर लड्नुको विकल्प छैन – राजकुमारी

सुनसरी । विप्लव नेतृत्वको नेकपा निकट अखिल नेपाल महिला संघ क्रान्तिकारी, सुनसरीले ११३औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस विभिन्न कार्यक्रमका साथ सम्पन्न गरेको छ ।

संघले नारी हिंसा, महंगी, बैंक तथा वित्तीय संस्थाको चर्को ब्याजदर र मिटर ब्याजीको ज्यादती विरुद्ध इटहरीमा विशाल जनप्रदर्शन गरेको छ । मार्च ८ को अवसरमा बुधबार इटहरी उपमहानगरपालिका ५ स्थित ज्योति मा.वि. को प्राङ्गणमा विभिन्न सांस्कृतिक कार्यक्रम सहित संघले सुनसरीको प्रथम जिल्ला सम्मेलन समेत सम्पन्न गरेको छ ।

पार्टी पोलिट ब्युरो सदस्य दिपेश सी.को प्रमुख अतिथ्यतामा सम्मेलन उदघाटन गरिएको हो । दिपेशले  शुभकामना मन्तव्यका क्रममा सबै किसिमका विभेद विरुद्ध संघर्ष गरेर मात्रै मुक्ति सम्भव रहेको कुरा बताउनु भएको छ ।

कार्यक्रमका विशेष अतिथि संघका केन्द्रीय महासचिव राजकुमारी सी. ले सबै श्रमिक महिलाहरु संगठित भएर लड्नुको विकल्प नरहेको कुरा स्पष्ट पार्नुभएको छ ।

पार्टी पोलिट ब्युरो सदस्य सुमन सी.ले मुक्ति आन्दोलनमा सहभागी हुनका निम्ति सबैलाई आग्रह गर्नुभयो । कार्यक्रममा नेकपा केन्द्रीय सदस्य तथा सुनसरी जिल्ला इन्चार्ज विवश सी. र सुनसरी जिल्ला सेक्रेटरी सुरेश सी.ले स्थानीयस्तरमा भइरहेका महिला हिंसा विरुद्ध सशक्त संघर्षमा उत्रन सबैलाई आग्रह गर्नुभयो ।

अतिथिहरु श्रमिक समुदाय मोर्चाका केन्द्रीय सचिवालय सदस्यद्वय निशान सी, र जीवन सी त्यसैगरी मोर्चाका केन्द्रीय सदस्य बिर्ख सी, अखिल नेपाल ट्रेड युनियन महासंघ सुनसरीका जिल्ला अध्यक्ष इश्वर सी लगायतले कार्यक्रममा शुभकामना मन्तव्य राख्नुभयो ।

उद्घाटन समारोहको बीच- बीचमा स्थानीय कलाकारहरुको विविध साँस्कृतिक प्रस्तुती समेत रहेको थियो । कार्यक्रम संघका जिल्ला सचिव प्रमिला सी.को सञ्चालन, जिल्ला अध्यक्ष परिता सी. को अध्यक्षतामा सम्पन्न भएको हो ।

संघका  जिल्ला सदस्य मञ्जु सी.ले कार्यक्रममा स्वागत मन्तव्य राखेका थिए । सम्मेलनले परिता राइको अध्यक्षतामा १३ सदस्यीय जिल्ला समिति समेत निर्वाचित गरेको छ । अनेम संघ क्रान्तिकारीले ८ मार्चको सन्दर्भमा देशभर नारी हिंसा विरुद्ध विविध कार्यक्रम सम्पन्न गरेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2024 आवाज पोस्ट All right reserved Site By : Himal Creation