कानून अनुसार कार्वाही गर्न समितिको माग

काठमाण्डौ । सिराहामा गाउँपालिका अध्यक्षले गरेको जातीय भेदभावको संयुक्त राजनीतिक  दलित संघर्ष समितिले कानून अनुसार कार्वाहीको माग गरेको छ । समितिले आज संयुक्त हस्ताक्षरित एक विज्ञप्ती जारी गर्दै उक्त माग गरेको हो ।

भगवानपुर गाउँपालिकाका अध्यक्ष उग्रनारायण यादवले फागुन २२ गते आफ्नो आमाको १३ औं दिनको कृयाभोजमा दलित, मुश्लिम तथा गैरदलितको लागि अलग अलग साइनबोर्ड टाँसेर जातीय रूपमा विभेदमूलक कार्य गरेका हुन् ।

विभिन्न १० वटा राजनीतिक दलित संगठनहरुद्वारा संयुक्त रूपमा जारी गरिएको विज्ञप्तीमा अलग लाइन बनाएर दलितमाथि गरिएको जातीय छुवाछूत तथा भेदभावको अमानवीय घटनाप्रति समितिले गम्भिर ध्यानाकर्षण भएको जनाएको छ ।

उक्त कृयाभोजमा विभिन्न पार्टीका नेताहरु, प्रदेश र प्रतिनिधिसभाका आधा दर्जन बढी बहालवाला सांसद, मेयर उपमेयरहरु र अन्य जनप्रतिनिधिहरुको बाक्लो उपस्थिति रहेको थियो । कृयाभोजमा पानी चल्ने भनिएका गैरदलितहरु एकापट्टी बस्ने र पानी नचल्ने दलितहरुलाई अर्कोपट्टी बसेर भोज खाने व्यवस्था गरिएको थियो । त्यसैगरी मुश्लिमहरुका लागि अलग स्थानमा बसेर भोज खाने प्रबन्ध गरिएको थियो ।

जातिअनुसार पानी चल्ने उच्च जातिकाहरु र दलितहरु बस्ने स्थानमा प्लेकार्ड अर्थात साइनबोर्ड नै लगाइएको थियो । दलितहरूलाई भोजन बांड्ने स्वयंसेवकहरु पनि अलग थिए । भने गैरदलितहरुका लागि भोज पस्किनेहरु अलग थिए। भोजमा जातीय छुवाछूत गरिएकोमा प्रश्न उठाउने केही सचेत दलितहरुलाई स्वयंसेवकहरुले लखेटेका थिए भन्ने जानकारी आएको छ ।

नेपालको संविधान तथा प्रचलित कानूनलाई ठाडो चुनौति दिनेगरी गाउंपालिकाको अध्यक्ष जस्तो पदमा निर्वाचित व्यक्ति तथा सो विभेदकारी भोजमा जिम्मेवार नेताहरु तथा सार्वजनिक पदधारण गरेका व्यक्तिहरु उपस्थित भएको स्थानमा जातीय छुवाछूतलाई संस्थागत रुपमा संरक्षण गर्ने गरी घटाइएको यस घटनाको हामी घोर भत्र्त्सना गर्दछौ विज्ञप्तीमा भनिएको छ ।

उक्त घटनाको तत्काल सत्यतथ्य छानवीन गरी घटनामा संलग्न निज गाउपालिका अध्यक्ष उग्रनारायण यादवलगायतलाई कानून अनुसार कार्वाही गर्न समितिले माग गरेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2024 आवाज पोस्ट All right reserved Site By : Himal Creation