अदालतको आदेश अवहेलना गर्दै बर्जु गाउँपालिका 

सुनसरी । सुनसरीको बर्जु गाउँपालिले उच्च अदालत विराटनगरको आदेश अवहेलना गरेको बताइएको छ । अदालतको आदेश विपरीत बर्जु ५ स्थित मिलन चोकमा रहेको सुकुम्बासी बस्ती माथि पालिकाले डोजर लगाउने पटक पटक प्रयास गरेको स्थानीयहरुले बताए छन् ।


स्थानिय जमिनदारको इसारामा गाउँपालिकाले सुकुम्बासी माथी डोजर चलाउने योजना बनाएको स्थानीयले बताएका छन् । गाउँपालिका कार्यालय वरिपरिका देवानगञ्ज – विराटनगर सडकको उत्तर दक्षिण क्षेत्रमा बसोबास गर्दै आएका २८ घर सुकुम्बासी मध्ये ७ घर सुकुम्बासी माथि डोजर लगाउन शनिबार ५ दिनको समयको अन्तिम सूचना दिइएको छ ।

बर्जु गाउँपालिकाको कार्यालयसंगै सडक छेउको ऐलानी जग्गामा रहेको वडा नं ५ को ८ कोठे सटर बिल्डिङ्ग र एनआइसी एसिया बैंक रहेको भवन कै लाइनमा रहेका घर टहराहरु मात्रै  भत्काउन अल्टिमेटम दिइएको हो । हाटबजार व्यवस्थापन र प्रहरी चौकी स्थापनाको वहानामा उक्त प्रयास गरिदै आएको बताइएको छ ।

देवानगञ्ज विराटनगर सडक २०७६ सालमा नाली सहितको कालोपत्रे भैसकेको अवस्थामा उक्त बस्ती हटाउनुपर्ने कुनै कारण नरहेको स्थानीय बुद्धिजीवीहरु बताउँछन्  । सडक देखि दक्षिण तर्फ वि.स. २०१६/१७ साल देखि बसोबास गर्दै आएकाहरु मध्ये २०२४ चैत्र १५ गते नापी हुँदा ३ घर नक्सामा समेत तत्कालीन गाउँ पञ्चायतमा उल्लेख रहेको र उनीहरूले धुरी कर समेत बुझाउँदै आएको कुरा स्थानीय रामसागर अधिकारीले बताएका छन् ।

सडकको उत्तरपट्टी किशोर चौधरीले भोग गर्दै आएको स्व. प्रभुनन्दन दासको छोरा कोशल दासको करिब १८ कट्ठा जग्गा रहेकोमा देवनारायण साह र कुलानन्द शर्माको घरका कारण मोहोडा छेकिएको हुनाले उक्त घर टहराहरु हटाउन षड्यन्त्र गरिएको अधिकांश स्थानीयबासी बताउँछन् । देवनारायणले २०५० सालदेखि धुरी कर तिर्दै आएका छन् ।


दक्षिण पट्टि मोरङ सुगर मिल्सले साल्ट ट्रेडिङ कर्पोरेसनलाई भाडामा दिएको बिघौं विघाहा जग्गा रहेको छ । तत्काल ७ वटा घर भत्काउन अल्टिमेटम दिएको छ । ७ वटा घरहरुसंगै भत्काउने लाइनमा ८ वटा घरहरु रहेका छन् । हाल डोजर लगाउनका लागि सडकको उत्तरपट्टी कोशल दासको जग्गासंग जोडिएको देवनारायण चौधरी र कुलानन्द शर्मा बढहीको घर भत्काउन ५ दिनको समय दिइएको कुरा स्थानीयले बताए ।

त्यसैगरि दक्षिणतर्फ मोरङ सुगर मिल्सको जग्गासंगै जोडिएको गणेशमान सिंह चौधरी, भोला परियार, छविलाल चौधरी, विनोद सिंह, सञ्जिव कुमार चौधरी, हरि नन्दन राम लगायतलाई पनि घर भत्काउन ५ दिनको अल्टिमेटम दिइएको कुरा स्थानीयले जानकारी गराएका छन् ।

२०७४ सालमा कांग्रेसको तर्फबाट अध्यक्ष निर्वाचित गाउँपालिकाले त्यस क्षेत्रमा रहेका २८ घर टहरा भत्काउन प्रयास गरेपछि सुकुम्बासीहरुले उच्च अदालत विराटनगरमा मुद्दा दायर गरेका थिए । उच्च अदालतले घर टहरा नभत्काउन आदेश जारी गरेपछि तत्कालीन जनप्रतिनिधिहरु पछि हटेका थिए ।

अहिले एमालेबाट निर्वाचित गाउँपालिका अध्यक्ष जिवछ कुमार रायलाई विशेष गरि उपाध्यक्ष नितु कुमारी चौधरी, ५ नम्बर वडा अध्यक्ष अजय कुमार चौधरी लगायतको समूहले दबाब दिएर पुनः घर टहरा भत्काउन लगाइएको स्थानीयले बताएका छन् । पछिल्लोपटक २०७९ भदौबाट बस्ती भत्काउने प्रयास सुरु गरिएको स्थानीय बासिन्दाहरु बताउँछन् ।

गाउँपालिकाले भदौ देखि पहिलोपटक १५ दिने, त्यसपछि ७ दिने र अन्त्यमा २४ घण्टे अल्टिमेटमको सूचना जारी गरेको थियो । रातीको समयमा रातिको समयमा जारी गर्ने भएकोले कसैलाई थाहै नहुने कुरा स्थानीयले बताउँछन् । सूचनामा चित्त नबुझे गाउँपालिकामा निवेदन दिन भनिएको भए पनि पालिकाले पिडितको निवेदन दर्ता गर्न इन्कार गर्दै आएको पीडितहरु बताउँछन् ।

करोडौंको चलखेलका कारण यस किसिमका षड्यन्त्रमूलक कार्य अगाडि बढाइएको स्थानीयले जिकिर गरेका छन् । जिल्ला प्रशासन कार्यालय सुनसरीले समेत घर टहरा नभत्काउन आदेश दिएको पत्रको बोधार्थ इलाका प्रहरी कार्यालय सितागञ्जका प्रहरी नायब निरीक्षक बाबुराम खड्काले बुझ्न अस्विकार गर्दै आएको कुरा स्थानीयले बताएका छन्  ।

२०७९ फागुन २७ गते उपाध्यक्ष नितु कुमारी चौधरी, ५ न. वडा अध्यक्ष अजय कुमार चौधरी, पालिका सदस्य ईन्द्रलाल ठाकुर, बस्ती विस्थापन समितिका संयोजक राम प्रसाद चौधरी, पालिका सदस्य तथा उपाध्यक्षका बुवा रामनारायण चौधरी, वडा सचिव रामचन्द्र पेशकार लगायतको टोली प्रहरी सहित डोजर लिएर घर टहरा भत्काउन आएपनि स्थानीयको अवरोधका कारण ५ दिनको समय दिएर पछि हटेको छ ।

बस्ती विस्थापन समितिका सदस्यहरु डाक्टर शिवनारायण शर्मा, सुरेन चौधरी, दुखीराम चौधरी, गजेन्द्र चौधरी, सूर्यनारायण चौधरी, बुधलाल चौधरी, सञ्जय चौधरी, रिकेश चौधरी, अर्जुन चौधरी, अरविन्द चौधरी, प्रह्लाद चौधरी, देवनारायण चौधरी, जयराम चौधरी, दयानन्द चौधरी, बालेश्वर चौधरी लगायत व्यक्तिहरु दादागिरी देखाउँदै घर टहराहरु भत्काउनका निम्ति अगाडि आइरहेको बताइएको छ ।

  सीमा सुरक्षा बेस क्याम्प, खरी टोलको सशस्त्र प्रहरी इन्स्पेक्टर नेतृत्वको टिम, इलाका प्रहरी कार्यालय दुहवीका इन्स्पेक्टर नेतृत्वको टिम, इलाका प्रहरी कार्यालय देवानगञ्जको इन्स्पेक्टर नेतृत्वको टिम गरी ३ वटा सुरक्षा टोली सहित जनप्रतिनिधिहरु र बस्ती विस्थापन समिति शनिबार घर टहरा भत्काउन आएका थिए । प्रहरी प्रशासन, बस्ती विस्थापन समिति र जनप्रतिनिधिहरुको दबावमा पारेर घर टहरा भत्काउने मञ्जुरीपत्रमा जबर्जस्त हस्ताक्षर गराइएको पीडितहरु बताउँछन् ।

गाउँपालिका अध्यक्ष जिवछ कुमार रायले यसबारेमा बोल्न चाहेनन् । चौतर्फी दवाबका कारण आफूलाई निकै गाह्रो भइरहेको अध्यक्षले बताए । उनले वडा अध्यक्षलाई सबै कुरा थाहा भएकोले वडा अध्यक्षलाई नै सम्पर्क गर्न लगाए । ५ नम्बर वडाका अध्यक्ष अजय कुमार चौधरीले आफूले नियम अनुसार नै काम अगाडि बढाइ रहेएको कुरा बताएका छन् । अदालतको आदेश बारेमा आफूलाई थाहा नभएको वडाध्यक्षले बताए  ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2024 आवाज पोस्ट All right reserved Site By : Himal Creation