राष्ट्रघाती सम्झौता विरुद्ध संघर्षमा उत्रनुपर्ने – ध्रुव सी

पाल्पा । नेपाल कम्युनिस्ट पार्टीका पोलिट ब्युरो सदस्य ध्रुव सी.ले राष्ट्रघाती एमसीसी सम्झौता विरुद्ध सबै जनता संघर्षमा उत्रनुपर्ने बताएका छन् । नेकपा, पाल्पाद्वारा रामपुरमा आयोजित एमसीसी र जनसरोकार विषयक अन्तरक्रिया कार्यक्रममा प्रमुख अतिथिको रुपमा बोल्दै उनले सो आग्रह गरेका हुन् ।

उनले एमसीसी र जनसरोकारको विषयमा आफ्नो धारणा राख्दै एमसीसी सम्झौतामा अमेरिकी शर्तहरुको थुप्रोले यसलाई अनुदान भन्न नमिल्ने बताए । उनले भने, “एमसीसीलाई अनुदान भनिएको छ । ऋणका नीति, शर्तहरु हुन्छन् तर दान, दातव्य, चन्दा, पुरस्कार, अनुदान सहयोग, उपहार, दक्षिणा पाएको कुरामा शर्त हुदैन । अनुदान भन्नेमा सर्तहरुको थुप्रो किन लगाईयो ? त्यस कारण विशुद्ध अनुदान भनेर विश्वास गर्ने कसरी हामीले ?” एसीसी सम्झौताले नेपालको संविधानको मूल मर्म माथि नै प्रहार गरेको बताए । “संविधानमा समाजवादतर्फ उन्मुख हुनुपर्ने, स्वतन्त्र परराष्ट्र नीति उल्लेख भए पनि एमसीसी सम्झौता उदारिकरण, निजिकरण र बहुलबाद व्यवस्था सञ्चालन गर्नुपर्छ भनिएको छ । यो नेपाली जनताले फैसाला गर्नुपर्ने होकी अमेरिकाले फैसला गर्नु पर्ने हो ? यसले हाम्रो सर्वभौम अधिकारलाई कुण्ठित गरेको छ ।” उनले भने ।

आइतबार नेपाल र अमेरिका विच भएको एमसीसी सम्झौता अनुसार विद्युत प्रसारण लाईन तथा सडक स्तरोन्नतिको योजना कार्यान्वयन प्रक्रिया अघि बढिरहेको सन्दर्भमा रामपुरमा सरोकावालाहरुसंग अन्तरक्रिया गरिएको हो ।

कार्यक्रममा नेपाली कांग्रेसका महासमिति सदस्य देवराज ढकालले एमसीसीको विषयमा आआफ्नै किसिमले व्याख्या हुँदा बुझ्न गाह्रो रहेको बताउनुभयो । राष्ट्रिय प्रजातन्त्र पार्टीका पुर्व केन्द्रीय सदस्य एवं वर्तमान पाल्पा जिल्ला अध्यक्ष डुल बहादुर कुँवर, नेपाली कांग्रेस रामपुरका नगर उपसभापति क्याप्टेन देव बहादुर थापा मश्राङ्गी, नेकपा एकिकृत समाजवादी रामपुरका अध्यक्ष फणेश्वर गौतम, रामपुर उद्योग वाणिज्य संघका अध्यक्ष भोजेन्द्र प्रकाश ढकाल, नेकपा माओवादी केन्द्रका लुम्बिनी प्रदेश सदस्य रामप्रसाद खत्री, राष्ट्रिय जनमोर्चा रामपुरका रामप्रसाद गैरे, राप्रपा रामपुरका राजेन्द्र ढकाल, बृहस्पति अर्याल लगाएतले आफ्ना धारणा राखेका थिए ।

नेपाल कम्युनिष्ट पार्टीका जिल्ला सेक्रेटरी मिन बहादुर सी. ले रामपुरमा एमसिएको कार्यालय भएकाले कार्यक्रम गरिएको र नेकपाले बैंकहरुको ब्याज तथा लघुवित्तहरुको विषयमा पनि आवाज उठाउँदै आएको बताए । रामपुर उद्योग वाणिज्य संघको सभाहलमा नेकपा जिल्ला सचिव मीन ब.सी.को अध्यक्षता, जिल्ला सदस्य पुरन सी. को सञ्चालनमा कार्यक्रम सम्पन्न भयो । कार्यक्रममा नेकपा पाल्पा जिल्ला सचिवालय सदस्य निशान सी. ले स्वागत मन्तव्य राखेका थिए ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2024 आवाज पोस्ट All right reserved Site By : Himal Creation